
मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना शुरू गरिएको छ ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा चराको गणना शुरू भएको हो ।
पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय श्रेष्ठले बताए ।
यसअघि एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखिकरण गरिएको थियो ।
बढ्दो शहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको श्रेष्ठको भनाइ छ ।
यस वर्ष आज शुरू भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखिकरण गरिने उनले जानकारी दिए ।
यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने चरा पनि भेटिँदै आएका छन् । गत मङ्सिरमा पनि यही ठाउँमा दुर्लभ पाहुना चरा स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएर अभिलेखिकरण गरिएको थियो ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना शुरू गरिएको हो ।