०५ साउन २०८३, मंगलबार
फेरिएको जीवन

उपमेयरबाट किवी किसानमा फेरिएकी तिलाको अनुभवः पहिले गाउँलेले कुरा काट्थे, अहिले पदचाप पछ्याउँदैछन्

पुस २८, २०८०
विराटनगर
उपमेयरबाट किवी किसानमा फेरिएकी तिलाको अनुभवः पहिले गाउँलेले कुरा काट्थे, अहिले पदचाप पछ्याउँदैछन्

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर– ९ सोल्मा पुरुन्दिनकी तिला पोख्रेलको अहिले परिचय फेरिएको छ । लालीगुराँस नगरपालिकाकी उपप्रमुख (उपमेयर)को रूपमा २०७४ देखि ७९ सम्म ५ वर्षे कार्यकाल बिताएकी तिला अहिले पूर्ण रूपमा व्यावसायिक किसान बनेकी छिन् ।

त्यसो त तिलाले श्रीमान् देवी पोख्रेलसँग किलेर उपमेयर हुनुभन्दा अगाडिदेखि नै किबी खेती थालेका थिए । पहाडको कालो सुन भनेर चिनिले अलैँची उत्पादनमा गिरावट आएपछि पोख्रेल दम्पतीले किवी खेती थालेका थिए । 

९ वर्षअघि  टेलिभिजनमा किवी खेतीबारे प्रसारण भएको कार्यक्रम हेरपछि उनीहरूले यसको खेती शुरू गरेका हुन् । तिलाका श्रीमान् देवी व्यापारसमेत गर्ने गर्छन् । उनको तेह्रथुमकै लसुने बजारमा घडी रेडियो तथा मोबाइल पसल रहेको छ ।​

तिला पोख्रेल ।

पोख्रेल दम्पतीले इलामबाट २०० वटा बिरुवा ल्याएर किवी खेती शुरू गरेका थिए । अहिले भने उनीहरूले नर्सरी बनाएर नै बिरुवा बेच्ने गर्छन् । उनीहरूले शुरू गर्दा तेह्रथुममा न्यून किसानले मात्रै किवी खेती गर्ने गरेका थिए । धेरैलाई यो फलका बारेमा जानकारी पनि थिएन । नयाँ फल भएकाले बजारको चिन्ता पनि उनीहरूलाई थियो । आफू उपमेयर भएताका अनुगमन तथा विभिन्न कार्यक्रममा जाँदा तिलाले अन्य किसानलाई यसबारे जानकारी गराउने गरेकी थिइन् ।  

देवी किवी फर्म नाम दिएर उनीहरूले खेती गर्ने गरेका छन् ।  उनीहरूको बगानमा रेड र ग्रीन जातका किवी छन् । अहिले पोख्रेल दम्पतीले आफ्नो उत्पादन विभिन्न जिल्लामा पुर्याइरहेका छन् । उनीहरूले अहिले जुस पनि उत्पादन गर्ने गरेका छन् । आफूले उत्पादन गरेको वस्तु उनीहरूले मेला–महोत्सवमा समेत लगेर बेच्ने गरेका छन् । ‘किवीको रक्सी, वाइन, जुस लगायतका पेय पदार्थ बनाएर समेत बिक्री गर्ने गरेका छौं,’ तिलाले भनिन् ।

null

२०७१ मा किवी खेती शुरू गर्दा धेरैले ‘यी बौलाए’ समेत भन्ने गरेको तितो अनुभव यी दम्पतीसँग छ । अहिले तिनै मानिसले प्रशंसा गरेको सुन्दा भने खुसी लागेको तिला बताउँछिन् ।   

किवीबाटै अहिले राम्रो आम्दानी गरिरहेको पोख्रेल दम्पती बताउँछन् । उनीहरूले गाउँमै बसी–बसी वर्षको ६ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।  घरनजिकैको बगानमा उनीहरू बिहान–बेलुकी र दिउँसो पनि फुर्सद हुनासाथ किवी हेरचाहमै समय बिताउने गरेका छन् । 

किवी प्रशिक्षकमा स्थापित

पोख्रेल दम्पती जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचित भइसकेका छन् । देवी किवी किसान मात्र नभई प्रशिक्षकको रूपमा समेत स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किवी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन आउने गरेको देवीले बताए ।

तिलाका श्रीमान् देवी पोख्रेल । 

पोख्रेल दम्पतीले शुरू गरेको किवी खेती यति बेला गाउँका धेरैजसो किसानका लागि प्रेरणा बनेको छ । अरुले पनि सँगै खेती गर्न थालेका छन् । 

सफलतासँगै समस्या पनि 

पोख्रेल दम्पतीको बगानमा उत्पादन भएको किवी बजार भने अस्थिर रहेको छ । ‘अहिले किसानका बारीमा उत्पादन धेरै छ,’ तिलाले भनिन्, ‘बजार भने भारी गिरावट छ । हामी बजार खोज्दै मेला महोत्सवमा पनि गइरहेका छांै ।’ यद्यपि, जुस बनाएर बेच्दा भने केही मूल्य पाएको उनले सुनाइन् । 

किसानले उत्पादन गरेका बस्तुको बजारीकरण भने तीनै तहका सरकारले ध्यान नदिएको तिलाको गुनासो छ । तपार्इं आफैँ उमेयर हुनुहुन्थ्यो त्यति बेला चाहिँ के गर्नुभयो भन्ने लोकान्तरको प्रश्नमा तिलाले पहिलो कार्यकाल भएकाले सिक्दासिक्दै बितेको जवाफ दिइन् ।

‘संघीयता पछाडिको स्थानीय तहको पहिलो चुनाव भएकाले हामीले धेरै अभ्यास पनि गर्नु पर्यो,’ उनले भनिन्, ‘हामीले पिरामा बसेर पनि काम गरेका छाैँ । पहिलो अभ्यास भएकाले दोस्रो कार्यकालमा धेरै काम गर्न सक्ने वातावरण बनाएकी थिएँ । तर त्यो अवसर पाइँन ।’ 

null

आफ्नो क्षेत्रमा कोल्ड स्टोर नहुँदा उत्पादन खेर जाने गरेको पोख्रेल दम्पतीको गुनासो छ । यस्तै जिल्ला बाहिरका कतिपय व्यापारीले सामान लगेर पैसा नदिएको उनीहरूले बताए । बजारीकरणमा सरकारले ध्यान दिए राम्रो आम्दानी गर्न सकिने तिला बताउँछिन् । 

वार्षिक ४ हजार ५०० किलोग्राम उत्पादन गर्ने गरेको उनले सुनाइन् । शुरू–शुरूमा ६०० रुपैयाँ प्रतिकिलोमा बेचेको किवीको अहिले बजार भाउ खस्किएको उनले जानकारी दिइन् । उनका अनुसार अहिले किवीको मूल्य घटेर १५० रुपैयाँमा पुगेको छ ।

३ वर्षअघि वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने पोख्रेल दम्पतीले अहिले अढाइ लाखमा चित्त बुझाउनु परेको छ । यद्यपि, उनीहरू अहिले पनि नाफामै छन् ।  

राजनीति पनि सँगसँगै

२०७४ मा भएको स्थानीय तहको चुनावमा तिला लालीगुराँस नगरपालिकाकी उपयमेयरमा निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसबाट चुनाव जितेकी उनले नेकपा (एमाले)की जमुना मगर कार्कीलाई पराजित गरेकी हुन् ।

null 

२०७९ को चुनावमा भने तिलामाथि अन्याय भयो । उनले पराजित गरेकी जमुनालाई कांग्रेसले टिकट दियो । जो  भर्खरै एमालेबाट कांग्रेसमा प्रवेश गरेकी थिइन् । पार्टी फेरेर आएकी जमुनाले चुनाव जित्न पनि सफल भइन् ।

अर्कोतिर तिलाको भने बाटो बदलियो । थोरै राजनीति र धेरै कृषिमा ध्यान दिन थालिन् । तिला अहिले कांग्रेसकी महासमिति सदस्य हुन् । ‘राजनीतिलाई चटक्र्क छोडेकी होइन् । व्यवसायसँगै अगाडि बढाउने छु,’ उनी भन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्