
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
माघ १ गते मनाइने माघी पर्व, माघसङ्क्रान्ति, तिलासङ्क्रान्ति, मकरसङ्क्रान्ति, उत्तरायण, छार म्हेङ, येले संवत्, मकरस्नान र राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
'अनेकतामा एकता हाम्रो मौलिक पहिचान र विविधतालाई अक्षुण्ण राख्न उत्प्रेरित यसले पनि गर्दछ,' उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालमा मनाइने चाडपर्वले जनजनमा नयाँ उमङ्ग र उत्साह भर्दै सबैखाले आपसी वैरभाव, मनोमालिन्यता, मनमुटाव र विभेद् अन्त्यका लागि प्रेरणाको स्रोत बन्ने बताएका छन् ।
यस अवसरमा सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म र संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि र विकासमा एकीकृत र दत्तचित्त भई लाग्न उनले आग्रह गरेका छन् ।