
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोशीमा देखिएको पहिचानको मुद्दा चाँडै समाधान हुने बताएका छन् ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रिय सभाको निर्वाचन पश्चात् यस विषयमा छलफल हुने बताएका हुन् । लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएकाले अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने उनको भनाइ छ ।
‘यति ठूलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ’, उनले भने, ‘माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रिय सभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल शुरू भई समाधान निकाल्ने छौं ।’
उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आग्रह गरे ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्’, नेता सिटौलाले भने । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिए ।