०४ असार २०८३, बिहीबार

आजदेखि काठमाडौंमा रवि मिश्रको एकल काटुर्न प्रदर्शनी

माघ ४, २०८०
काठमाडौं
आजदेखि काठमाडौंमा रवि मिश्रको एकल काटुर्न प्रदर्शनी

कार्टुनिष्ट रवि मिश्रले आजदेखि एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन् । 

नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत् आउने निर्णय गरेको बताए । १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्न लागेका हुन्। 

‘पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही प्रदर्शनीमा राखिने छन्, जसलाई मैले डिपेक्शन नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्शन’ मैले देखेको नेपाली समाजको चित्र हो ।'

प्रदर्शनीमा राखिने अधिकांश कार्टुनहरू विभिन्न पत्रिकामा प्रकाशित भइसकेका छन् । 'कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ,' उनले भने, 'पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत् दोहोरो संवाद गर्न खोज्दै छु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ ।’

मिश्रले कार्टुन आफ्ना लागि चित्रमात्रै नभएर विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताए । ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन,’ उनले भने, ‘मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने माध्यम हो । अन्तर्क्रिया मजेदार होस् भनेरै म कार्टुन लिएर यहाँ आएको छुँ । वर्तमानमा मैले देखेको समाजको दृश्य म कार्टुनमा कोर्छु । वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन । ’

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत् प्रस्तुत गर्दैछन् । ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शक समक्ष पुर्‍याउने माध्यमका रूपमा यो प्रदर्शनीलाई लिएको छु ,’ मिश्रले भने, ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोलम र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो । कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो ।’

प्रर्दशनीस्थल उमोजा क्याफेका निर्देशन लिलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्