पीएम कप मेन्स क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी क्लब (एपीएफ) पराजित भएको छ ।
बिहीबार कीर्तिपुर मैदानमा भएको खेलमा मधेश प्रदेश ५ विकेटले विजयी भयो ।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जीतमा रुपेश सिंहले ७२, पवन सर्राफले ६४, निरज यादवले ५२ र अनिल साहले २९ रनको योगदान गरे ।
रोहित पौडेल र रमेश कुर्मीले समान २ तथा मौसम ढकालले १ विकेट लिए पनि टीमलाई जीतसम्म डोहोर्याउन सकेनन् ।
यसअघि आसिफ शेखले ५९, कप्तान रोहित पौडेलले ५८, अमर रौतेलाले ४९ र सन्दीप जोराले २० रन जोडेपछि एपीएफले ९ विकेटको क्षतिमा २४६ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि रुपेश सिंह र प्रदीप पासवानले समान ३, रञ्जित कुमारले ३ तथा अरनिको यादवले १ विकेट लिएका थिए ।
प्रतियोगितामा मधेशको यो दोस्रो जीत हो । एपीएफले भने पहिलो हार व्यहोरेको छ ।