
काठमाडौं, १८ असोज- दशैंको बिदा सकिए लगत्तै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । तीस वर्षीय कार्यकाल हटाएको विरोधमा राष्ट्र बैंक कर्मचारी संगठनले दशैंलगत्तै फेरि आन्दोलन शुरु गर्दै कामकाज ठप्प पारेको हो ।
घोषणा गरिएको पहिलो चरणको आन्दोलन अन्तर्गत हाल कर्मचारीहरु शाखाप्रमुखहरुका कार्यकक्षमा धर्ना, नारा तथा बिरोधका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन थालेका छन् । राष्ट्र बैंक संचालक समितिको असोज ८ गते सेवा अवधिको मौजुदा व्यवस्था परिवर्तन गर्दै सेवा अवधिको उमेरहद ५८ वर्ष कायम गर्ने गरी कर्मचारी विनियामावालीमा हस्ताक्षर गर्दै लोक सेवा आयोगमा पठाएपछि लामो समयदेखि आन्दोलनमा रहेका कर्मचारी थप रुष्ट बनेका हुन् ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सीमित व्यक्तिको सेवा अवधिको स्वार्थका लागि अवधि लम्ब्याउन ३० वर्षे कार्यकाललाई परिवर्तन गर्न मुख्य भूमिका खेलेको कर्मचारी संगठनको आरोप छ ।
आगामी आइतबारदेखि दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने कर्मचारी संगठनले चेतावनी दिएको छ ।
लोक सेवाबाट राय आउने वित्तिकै ३० वर्षे नियम हट्दै सेवा निवृतिका लागि ५८ वर्षे सेवा अवधि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।