
दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउन साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो ।
वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिए । उनले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउन साइरन वितरण गरिएको बताए ।
'साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्,' वडाध्यक्ष फेउदिनले भने, 'साइरनको आवाजले हात्ती पनि भाग्छ ।' उनले तत्काल जङ्गल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताए।
फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए ।
गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतङ्क मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जङ्गली हात्तीको आक्रमणबाट दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ ।