२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा पुग्यो मतपत्र

माघ ५, २०८०
काठमाडौं
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा पुग्यो मतपत्र
फाइल फोटो

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेश मतपत्र पुर्‍याएको छ ।

यही माघ ११ गते हुने निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको हो । सो निर्वाचनका लागि ३८ प्रकारका कुल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ । 

यसअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार प्रदेशगतरुपमा रहेका निर्वाचक मण्डलका सदस्यको सङ्ख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानी आयोगले तोकेको सङ्ख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय ४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका एक हजार सात सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् ।​

त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका सात सय ४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका सात सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्