
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ सम्मेलनमा भाग लिन युगान्डा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानी कम्पालामा रहेका नेपालीहरूसँग भेट गरेका छन् ।
नेपाली समयअनुसार शुक्रवार बिहान भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।
‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूत बोलाएर कुरा गरेको छु,’ उनले भने ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताएको उनको सचिवालयले जनाएको छ ।
‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन । अहिले उहाँहरूका दुःखकष्ट बुझ्ने अवसर पनि पाएँ,’ उनले थपे ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन् ।
सो कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको जानकारी दिए । उनले विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डसहितको टोली बिहीवार युगान्डा पुगेको हो ।