
रुपन्देहीको तिलोत्तमामा आधुनिक सुविधासहित ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । महिला, बालबालिका तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको हो ।
२५ जना शेयर सदस्य रहेको अस्पतालको अध्यक्ष, मेडिकल सुपरीटेन्डन र प्रबन्धन निर्देशकसहित २१ जना समाजमा पहिचान बनाएका महिलाहरू छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक कमला हमालले १० करोड रूपैयाँको लगानीमा अस्पतालले सबै सुविधासहित सेवा सञ्चालन गरेको बताइन् ।

‘विशेष गरेर तिलोत्तमावासी महिला र बालबालिकाहरू बुटवल र भैरहवा पुग्नुपर्ने बाध्यता हटाउने अस्पतालको उद्देश्य हो’, हमालले भनिन्, ‘नगरपालिबाट स्वीकृति लिए अस्पताल बनेको हो । हामीले तिलोत्तमाबासीलाई एम्बुलेन्स निःशुल्क व्यवस्था गरेका छौं । अस्पताल दक्ष र विशेषज्ञ सहितको चिकित्सकहरूले सेवा प्रदान गर्नुहुन्छ ।’
अस्पतालमा प्रसूतिसम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसीयू, २४ सै घण्टा इमर्जेन्सी सेवा, अपरेसन सेवा, इमर्जेन्सी सेवा, ल्याब, जनरल बेड, क्याबिन सञ्चालनमा छन् । अस्पतालले छिट्टै आईसीयू सेवा पनि सञ्चालनको तयारीमा रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् ।
अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञहरू प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, डा. विष्णु गौतम, डा. अनुपा थापा र डा.दृष्टि पौडेल रहेका छन । त्यस्तै बारिष्ठ बाल रोग विशेषज्ञ तथा सर्जन डा. गोपाल गुप्ता, बाल रोग विशेषज्ञ डा. किरण सुवेदी, डा. सुन्दर न्यौपाने, डा. अनिल खनाल र वरिष्ठ रेडियोलोजिष्ट डा. विजय घिमिरेले सेवा प्रदान गर्नेछन् । अस्पतालका मेसु डा. शर्मिला शर्माले अस्पतालले नेपाल सरकारले निर्धारण गरेका सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालमा आएको बताउँदै छिट्टै आमा सुरक्षा कार्यक्रम पनि सञ्चालनमा ल्याउने तयारीमा आफूहरू जुटेको बताइन् । केही समय अघिदेखि सेवा दिँदै आएको अस्पतालमा अहिलेसम्म १ हजार ७०० विरामीले सेवा लिइसकेका छन् ।
अस्पतालका सचिव उमा अर्यालले प्राइभेट अस्पताल भए पनि नाफामात्र नभई सेवामा भावका साथ अघि बढेको बताइन् । अस्पताललाई छिट्टै १०० शय्या सम्म सञ्चालन गर्ने सञ्चालकको लक्ष्य रहेको छ । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल पछिको ओम अस्पताल यस क्षेत्रको अर्को महिला र बाल अस्पताल बनेको हो ।