ललितपुर, १८ असोज - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन् ।
एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आज यहाँ आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताए ।
देशलाई आर्थिक समृद्धिको दिशामा लैजान एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको पनि उनले बताए ।
आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा एमाले पार्टीे पहिलो स्थानमा आउने उनको दाबी थियो । उक्त निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइभन्दा बढी मतको आधारमा सरकार बन्ने उनले बताए ।
उक्त चुनावमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर नै निर्वाचनमा जाने तय भएको उनले बताए । सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा (माओवादी केन्द्र) भने टुङ्गोमा पुग्न बाँकी रहेको अध्यक्ष ओलीले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का केन्द्रीय सदस्य बाबुकाजी प्रधान, आमन्त्रित केन्द्रीय सदस्यद्वय सुदर्शन बानियाँ र शान्ति सिजापतिलाई टीका लगाएर स्वागत गरे । केन्द्रीय सदस्य प्रधानको नेतृत्वमा विभिन्न पार्टीबाट ५० जना एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए ।

सो क्रममा केहि पहिले नेपाल प्रहरीको डिआईजी पदबाट राजीनामा दिएका नवराज सिलवालको समेत सहभागिता रहेको थियो । उनी एमालेले निमन्त्रण गरेकाले त्यहाँ उपस्थित भएको बताइएको छ । यद्यपी सञ्चारकर्मीको नजरमा परेपछि उनले आफूले लगाएको क्यापले अनुहार छोप्ने प्रयास गरेको एक पत्रकारले बताए |
फाइल तस्बिर