२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

देव गुरुङमाथि अनियमितताको आरोपदेखि कोशीको समस्या समाधानको प्रयाससम्म

माघ ७, २०८०
काठमाडौं
देव गुरुङमाथि अनियमितताको आरोपदेखि कोशीको समस्या समाधानको प्रयाससम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पार्टीभित्रैबाट कर्णालीका भूकम्पपीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको आरोप लागेको छ ।

यस्तो आरोप लगाउनेमा वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी छन् । उनले महासचिवले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप मात्र लगाएका छैनन् यस विषयमा सरकारले छानबिन गर्नुपर्ने मागसमेत गरेका हुन् ।

भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत लिएर पुगेकी चिनियाँ महिलामाथि हातपात गरेको विषयमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि गम्भीर आरोप लगाएका छन् ।

००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका उनी आज स्वदेश फर्किन लागेका हुन् ।
००००
काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् । 
००००
नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले निर्वाच का लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।
००००
सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ ।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवद्र्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । 

पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी सङ्कलन हुने गरेको छ ।
००००
चालू आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ ।
साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेका वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
००००
असंलग्न आन्दोलनका राष्ट्रहरूबीचको सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच युगाण्डाको राजधानी कम्पालामा साइडलाइन भेट भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिवार भएको उक्त भेटमा दुवै नेताबीच द्विपक्षीय चासो, कनेक्टिभिटी, पर्यटन र क्षेत्रीय सहयोगबारे छलफल भएको छ ।
००००
राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
समितिका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
००००
कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । 
शनिवार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको हो ।
वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्