२१ असार २०८३, आइतबार

मोडल कुसुम शर्मालाई प्रश्न – वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ?

माघ ७, २०८०
काठमाडौं
मोडल कुसुम शर्मालाई प्रश्न – वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ?

कुसुम शर्मा यस्ती भाग्यमानी मोडल हुन्, जसले पहिलो म्युजिक भिडियोबाटै लोभलाग्दो चर्चा कमाइन् । ९ महिनाअघि प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट उनले मोडलिङमा पाइला चालेकी थिइन् ।

उक्त गीतले कुसुमलाई चर्चा मात्र दिलाएन, धेरैले उनको अभिनयको समेत खुलेर प्रशंसा गरे । त्यसयता उनले डेढ दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । फिल्ममा समेत डेब्यु गर्ने तयारीमा छिन् उनी । अभिनेता आर्यन सिग्देल र कुसुमलाई लिएर फिल्म ‘सञ्जीवनी’ निर्माणको घोषणा भएको केही समय भइसकेको छ । 

थुप्रै म्युजिक भिडियोमा काम गरिसके पनि ति कामलाई पहिलो भिडियोको लोकप्रियताले छोपेको छ । उनलाई धेरैले वास्तविक नाम (कुसुम)भन्दा पहिलो भिडियोको नाम (सकम्बरी) भनेर चिन्ने गरेका छन् । त्यही नामले बोलाउने गरेका छन् । ​

दर्शकमाझ वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ? लोकान्तरको प्रश्नमा कुसुमले भनिन् ‘खुशी लाग्छ । प्राउड फिल हुन्छ । निक नेम भन्ने कुरा यत्तिकै पाइँदैन । आफूले गरेको कामलाई माया गरेर धेरै मानिसहरूले सोही नामले चिन्छन् भने त्यो त उहाँहरूको माया हो ।’ 

एउटा कलाकारको लागि दर्शकहरूले दिएको नामभन्दा प्यारो अरू नाम नहुने उनको बुझाइ छ । शुरूको प्रोजेक्टभन्दा आगामी प्रोजेक्टमा राम्रो काम गरौँ भन्ने महसुस सधैं हुने गरेको उनले बताइन् । ‘यद्यपि, शुरूमा मलाई जे भनेर चिन्नुभयो, त्यसमा खुशी छु’ कुसुमले भनिन् । 

उनको पछिल्लो चर्चित म्युजिक भिडियो ‘मुटु कटक्कै’ हो । यसमा पनि कुसुमको अभिनयको प्रशंसा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्