
भारतको अयोध्यामा रामको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थितिमा सोमवार रामको प्रतिमा प्राणप्रतिष्ठा गरिएको हो ।
नवनिर्मित मन्दिरको गर्भगृहमा भगवान् रामको पूर्ण कदको प्रतिमा राखिएको छ ।
श्याम वर्णको (कालो) प्रतिमाको अनुहार थोरै मुस्कुराएको भान हुन्छ । प्रतिमा भागवान् राम भनेर प्रचारमा रहेका तस्वीरहरूभन्दा अलग छ ।
हिन्दू र मुस्लिमहरूबीच दशकौं लामो द्वन्द्वपछि अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको हो ।
मुख्य विवाद रहेको स्थानमा राम मन्दिर र अयोध्याकै अर्को एक स्थानमा बाबरी मस्जिद निर्माण गर्न भारतको सुप्रिम कोर्टले आदेश दिएको थियो ।
त्यहीअनुसार हतारमा राममन्दिर निर्माण गरेर प्राणप्रतिष्ठा गरिएको हो । यसलाई यही वर्ष भारतमा हुने लोकसभा निर्वाचनसँग समेत जोडेर हेरिएको छ ।
राममन्दिर निर्माण भारतीय जनता पार्टीको मुख्य चुनावी नाराको रूपमा रहँदै आएको छ ।