![न्युरोडमा आजदेखि ‘नो पार्किङ’ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/no_parking_UPzonDOcYU.jpg)
आजदेखि काठमाडौंको नयाँ सडकमा पार्किङ गर्न नपाइने भएको छ । नयाँ सडक जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा पार्किङको व्यवस्था गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
महानगरले आजैदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा समेत पार्किङ् गर्न निषेध गरेको छ ।

पार्किङ्ग निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ्ग’का संकेत चिह्न राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ ।
आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरू नगर प्रहरीले उठाइएको छ ।
यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।


