काठमाडौं, १९ असोज– दुई ठूला वाम पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्नेगरी सहकार्य भएका बेला ३३ साना दलको मोर्चा पनि त्यसमा मिसिएको छ । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादीको चुनाव चिह्न हसिया हथौडा लिएर चुनाव लड्ने निर्णय गरी वाम एकतामा सहभागी हुने निर्णय गरेको हो ।
गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालका अध्यक्ष तथा ३३ दलीय मोर्चाका संयोजक युवराज सफलले माओवादीको चुनाव चिह्नमा चुनाव लड्नेगरी मोर्चा तालमेलमा सहभागी हुने निर्णय भएको बताए ।
अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको उनले जानकारी दिए ।
यस्तै संसदमा क्रियाशील रहेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने निर्णय गरेका छन् ।
यस्तै गणेश शाह नेतृत्वको नेकपा संयुक्तले पनि वाम तालमेलमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने निर्णय गरेको छ ।
पूर्वमन्त्री तथा संयुक्तका नेता जयदेव जोशीले बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय भएको जानकारी दिए ।