
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मौवादेवी खेलमैदानको स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जितपुरसिमरा–१८ स्थित मौवादेवी युवा क्लबको खेलमैदानमा सुरु मनहर्वा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवा खेलमैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता गरे ।
मुख्यमन्त्री यादवले लागुऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिनेसमेत उद्घोष गरे । उनले प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि काम भइरहेको बताए ।
मधेस प्रदेश सरकारका खेलकुदमन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट रु चार लाख उपलव्ध गराउने बताइन् । खेल र खेलाडीको विकास एवं स्तरवृद्धिका लागि प्रदेश सरकार पूर्णरूपमा अग्रसर भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बारा क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताइन् ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगद प्राप्त गर्नेछन् ।