
उलानबाटोर–मङ्गोलियाको राजधानी उलानबाटोरमा भएको ग्यास ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिवार जनाएको छ ।
विस्फोटका कारण शरीरको ८०–९० प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रवार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।
करिब ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर बुधवार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश जनाभन्दा बढी घाइते भएका छन् ।
विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।