
काठमाडौं, १९ असोज - जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धीको २३ औं सम्मेलनमा अतिकम विकसित राष्ट्र समूहको बैठकमा नेपालले प्रभावकारी सहभागिता जनाएको छ ।
इथियोपियाको राजधानी अदिस अबाबामा जारी दुई दिने (अक्टोबर ५ देखि ६ सम्म) प्राविधिक बैठकमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी, सोही मन्त्रालयका सह सचिव लक्ष्मी बस्नेत र जलवायु वित्त व्यवस्थापन शाखा प्रमुख नरेश शर्माको सहभागिता रहेको छ ।
नेपालको तर्फबाट नेतृत्व गरिरहनु भएकी मन्त्री चौधरीले बैठकलाई सम्बोधन गर्दै आगामी कोप–२३ ऐतिहासिक पेरिस सम्झौता कार्यन्वयनको लागि आवश्यक नियमहरु बनाउनेतर्फ केन्द्रित हुने भएकोले अति कमविकसित राष्ट्र समूहको अर्थपूर्ण नेतृत्वको लागि जोड दिनुभयो । उहाँले नेपाल जस्ता जलवायु परिवर्तनका असरबाट संकटासन्न र जोखिममा रहेका मुलुकका विविध समस्या समाधानार्थ कोशेढुंगा सावित हुने बताउनुभयो ।
सन् २०१८ सम्ममा पेरिस सम्झौताको कार्यन्वयनका लागि आवश्यक नियमहरु बनाइसक्नुपर्ने भएकोले उपलब्ध समयको अधिकतम उपयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो । यसका साथै मन्त्री चौधरीले पेरिस सम्झौताको सफल कार्यन्वयनका लागि सम्पूर्ण विकसित राष्ट्रहरुलाई न्यूनकार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अबलम्बन गरी विश्वको तापक्रम १.५ डिग्री सेन्टि ग्रेडभन्दा कम राख्नको लागि अपिल गर्नुभयो ।
सो अवसरमा मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गरेको स्थानीय तथा राष्ट्रिय प्रयासहरुबारे जानकारी गराउँदै पेरिस सम्झौताको सफल कार्यन्यनको लागि जलवायु वित्तको उपलब्धता र सहज प्रबाह, प्रविधिको विकास तथा हस्तान्तरण र क्षमता अभिबृद्धि एक अधारस्तम्भ रहेको बताउनुभयो ।
हरेक वर्ष कोपको पूर्वसन्ध्यामा आयोजना हुने वैठकले कोपमा छलफल हुने विभिन्न विषयहरुका बारेमा गहन मन्थन गरी समान बुझाई निर्माण गर्दै अतिकम विकसित राष्ट्रहरुको प्रभावकारी सहभागिताको लागि रणनीति तय गर्ने गर्दछ ।