
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ खुला गर्ने भएको छ । न्युरोडमा क्षेत्रमा पार्किङ निषेध गरेसँगै सुनधारामा बनेको पार्किङ खुला गर्न लागिएको हो ।
धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
००००
सहकारी ठगीका फरार अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।
राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले शनिवार जानकारी दिए ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारका बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् ।
शनिवार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
शाहले देशलाई झन् झन् बर्बादीको बाटोमा लान नहुने भन्दै सोच्ने बेला आएको पनि बताएका छन् ।
००००
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन् ।
भारतीय प्रधानन्यायाधीश डीवाई चन्द्रचूडको मैत्रीपूर्ण निमन्त्रणमा श्रेष्ठ नेतृत्वको भ्रमण टोली शनिवार नेपाल वायु सेवा निगमको विमानमार्फत भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको हो ।
००००
कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ ।
प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरुपमा दिँदै आएको भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलवी बिदामा तीन वटा बिदा थप गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार शहीद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे ।
००००
नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । सिनामंगलस्थित निगमकै जग्गामा बन्ने केन्द्रीय कार्यालय भवन निर्माण स्थलको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको उपस्थितिमा भूमिपूजन गरिएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूमिपूजन कार्यक्रममा मन्त्री किराँतीसहित कार्यकारी अध्यक्ष युवराज अधिकारी, निगमको सञ्चालक समिति सदस्य किशोर प्रधान, वरिष्ठ क्याप्टेन सुधिर शमसेर राई र अमृतमान श्रेष्ठ, निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ । सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत एक कार्यक्रममा गएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले सम्वाद यात्राको शुरूवात गरेको बताएका छन् ।
शनिबार बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरिएको बताए।
००००
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो ।