
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानलाई झनै प्रभावकारी बनाउन नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अभियानलाई झनै प्रभावकारी बनाउन कांग्रेसले टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक गराएको छ ।
तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छ ।
कांग्रेसले कोशी प्रदेशका १२ जिल्लाका लागि तीनजना नेता तोकेको छ । झापा र सुनसरीमा इतर पक्षका नेता डा शेखर कोइरालालाई खटाइएको छ ।
यस्तै प्रकाशमान सिंहलाई मधेशका चार जिल्लामा पठाइने छ । जसमा महोत्तरी, सिराहा, सप्तरी र धनुषा छन् ।
यसैगरी विमलेन्द्र निधिलाई लुम्बिनीका रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा खटाइने भएको छ ।
त्यस्तै डा शशांक कोइरालालाई कर्णालीका दैलेख, सल्यान र सुर्खेतमा पठाइने कांग्रेसले जनाएको छ ।
केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा भने यो अवधिको अभियान नराखेको कांग्रेसले जनाएको छ ।
को कहाँ ? 
