०८ साउन २०८३, शुक्रबार

संवाद यात्रामा मोरङ पुगेका गगनलाई प्रश्न - केन्द्रीय नेताहरूको गुट कहिलेसम्म चल्छ ?

माघ १४, २०८०
विराटनगर
संवाद यात्रामा मोरङ पुगेका गगनलाई प्रश्न - केन्द्रीय नेताहरूको गुट कहिलेसम्म चल्छ ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुरू गरेको 'संवाद यात्रा' मोरङमा आइपुगेको छ । हिजो झापादेखि शुरू भएको यात्रा आइतवार मोरङमा आइपुगेको हो । 

मोरङको पुरानो सदरमुकाम रंगेलीदेखि शुरू भएको यात्रा कटहरी विराटनगर हुँदै आजै सुनसरी प्रवेश गर्ने नेताहरूले बताएका छन्  ।​​

आइतवार कटहरी चोकमा भएको संवादमा हुलाकी राजमार्गको ढिलाईले भोगेका समस्या, रेलको मुआब्जा, रोजगारीको सिर्जना, स्वास्थ्य बीमाका कारण जनताले भोग्नु परेका समस्यालगायतका विषयमा कार्यकर्ताहरूले महामन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

यसका साथै गठबन्धन नगर्न पनि उनीहरूले आग्रह गरेका छन् ।​ बीपीले चुनाव जितेको क्षेत्रमा समेत गठबन्धन गर्नु परेको भन्दै कार्यकर्ताहरूले एकलै लड्ने कांग्रेस बनाउन आग्रह गरे ।

त्यस्तै केही स्थानीय नेताहरूले स्थानीय स्तरमा टुटफुट नबनाइ सक्रिय भएर काम गरे पनि केन्द्रका नेताहरूले गुट बनाएका कारण कांग्रेस कमजोर भएको बताएका छन् । 

काम गर्ने कार्यकर्तालाई पाखा लगाएर पहुँचका भरमा मात्रै समेट्ने गरेको नेपाली कांग्रेसकी नेतृ सीता बरालले दुखेसो पोखिन् । ‘हामी तल्लो स्तरमा खट्ने कार्यकर्तालाई कसैले हेर्दैन', उनले भनिन्, ‘पहुँचका भरमा मात्रै पार्टी चलेको देखेका छौ ।’ उनले खट्नेलाई मात्रै पार्टीभित्र अवसर दिन आग्रह गरेकी छिन् । 

गुट भएकै कारण माओवादीले समेत हेप्ने गरेको कांग्रेसका सुमन चौधरीले गुनासो गरे । ‘३६५ दिन कांग्रेस भए पनि चुनावका दिन भोट कहाँ हाल्छन् भन्ने थाहा हुँदैन’,  उनले भने, ‘तिम्रो सङ्गठन ठूलो भए पनि के हुन्छ र ?, हाम्रो सङ्गठन सानो भए पनि चुनाव जितिहाल्छौं भनेर धम्क्याउँछन् ।’

यस्तै रामकुमार कामतले हुलाकी राजमार्गका कारण नयाँ कपडा लगाएर हिँड्न नसकिएको बताए । ‘हामी नयाँ कपडा लगाएर हिँड्न सक्दैनौं’, कामतले भने, 'बेलुका घरमा आउँदा मान्छे पनि चिनिँदैन कपडा पनि चिनिँदैन ।

चेतबहादुर बस्नेतले पनि हुलाकी राजमार्ग नबन्दा जनताले ठूलो दु:ख पाएको बताए । उनले नेताहरूले चासो दिनु पर्ने बताए । लक्ष्मण घिमिरे गगन थापा आउँदा मात्रै नेताहरू पछि टिकट पाइँदैन कि भनेर आउने गरेको आरोप लगाए । ​​

गुलाब सहनीले कार्यकर्ताहरूलाई चित्त नबुझे पनि नेताहरूले गठबन्धन गर्ने गरेको भन्दै आपत्ति जनाइन् । उनले गठबन्धन नगर्न पनि आग्रह गरिन् ।

कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले नेपालमा केही भएको छैन भनेर केही व्यक्तिहरूले हल्ला गरे पनि परिवर्तन भएको बताए । ‘अहिले देशमा केही भएको छैन भनेर हल्ला गर्नेहरू छन्, सबै सकियो, वर्वाद भयो भनेर हल्ला गरेको सुनिन्छ', महामन्त्री थापाले भने, 'धेरै परिवर्तन भएका छन् । तर जति हुनुपर्ने त्यो अवस्थामा भने भएको छैन ।’ 

चित बुझाउनु पर्ने ठाउँमा भने नरहेको उनले बताए ।

अहिले शासन गर्ने गति र मति नभएको उनले बताए । जति ढाकछोप गरे पनि जनतामा भने निराशा रहेको उनले बताए । हुलाकी राजमार्गको यात्रा सकिएपछि जनता कार्यकर्ताले उठाएका प्रश्नको जवाफ लिएर सरकारदेखि सदनसम्म घचघच्याएर अगाडि बढ्ने उनले बताए ।

सरकारले ठेक्का लगाएका कुनै पनि योजना समयमा नसकिनु गम्भीर रहेको उनले बताए ।

झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट शुरू भएको महामन्त्री थापाको 'संवाद यात्रा' झापा हुँदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्