
निर्वाचन आयोगले यही माघ ११ गते सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।
राष्ट्रिय सभा, प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, सचिव सूर्यप्रसाद गौतमलगायतको उपस्थिति थियो ।