०७ असार २०८३, आइतबार

विवाहका लागि वडाको सिफारिश अनिवार्य

माघ १५, २०८०
जुम्ला
विवाहका लागि वडाको सिफारिश अनिवार्य

बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिश अनिवार्य गरेको छ । 

उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिश अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिश लिनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिए । 

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिश अनिवार्य गरेको हो । वडाध्यक्ष रोकायाले भने, “विवाह गर्दा वडाको सिफारिश अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिश लिनुपर्ने नियम बनाएका छौं ।”

कानूनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा २ सय १३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिश अनिवार्य गरेपछि वैशाखयता पाँचजना उमेर पुगेका जोडीले विवाह गर्ने सिफारिश लिएका छन् । 

विवाहका लागि सिफारिश लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिश अनिवार्य गरे पनि तिलाका अरू वडाले प्रभावकारीरूपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला–१ का स्थानीय उपराज रावतले बताए ।

वडाध्यक्षहरूले गाउँमा हुने विवाहलाई उमेर पुगे/नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्