२१ जेठ २०८३, बिहीबार

फिल्ममा देखिँदै यी नेताहरू, कसलाई कस्तो ‘रोल’ ?

माघ १५, २०८०
काठमाडौं
फिल्ममा देखिँदै यी नेताहरू, कसलाई कस्तो ‘रोल’ ?

कलाकार राजनीतिमा प्रवेश गर्ने ‘ट्रेन्ड’ नौलो होइन । नेपालमा यस्ता थुप्रै कलाकारहरू छन्, जो कलाकारिताबाट राजनीतिमा पाइला चाले । यद्यपि, पछिल्लो समय भने राजनीतिबाट कलाकारितामा आउनेहरू पनि देखिएका छन् । यतिबेला केही चर्चित नेताहरू फिल्ममा देखिने तयारीमा रहेको खबरको चर्चा भइरहेको छ । 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नमेटिने घाउ’ नामक फिल्ममा अभिनय गर्दैछन् । सांसद ज्ञानेन्द्र शाहीले पनि उक्त फिल्ममा अभिनय गर्नेछन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘खजुरे ब्रो’ नामक फिल्ममा अभिनय गरिसकेका छन् ।

‘नमेटिने घाउ’ अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बन्न लागेको फिल्म हो । आइतवारमात्रै निर्माण घोषणा गरिएको फिल्म एसिड आक्रमण पीडितको कथामा बन्न लागेको छ । 

निर्माण पक्षले राजधानीमा आयोजना गरेको फिल्म घोषणा एवं​ शुभमुहूर्त कार्यक्रममा ओलीले फिल्ममा प्रधानमन्त्रीकै भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो । 

घोषणा कार्यक्रममा ओली प्रमुख अतिथिका रुपमा सहभागी थिए । उसो त ओलीले यसअघि दीपेन्द्र दाहालको निर्देशनमा फिल्म ‘रातो सूर्य’मा अभिनय गरे पनि यो फिल्मको छायांकन पूरा हुन सकेको छैन ।

‘नमेटिने घाउ’ टिमलाई शुभकामना दिँदै ओलीले निर्माण टिमले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुपर्छ भनेर राखेको प्रस्ताव आफूले स्वीकार गरेको बताए । 

फिल्मको घोषणा एवं शुभमूहुर्त कार्यक्रममा सांसद शाही पनि उपस्थित थिए । निर्माण टिमले फिल्ममा उनको अभिनय रहने जानकारी दिए पनि भूमिकाबारे भने केही खुलाएको छैन । 

शिवम् अधिकारीको कथा रहेको ‘नमेटिने घाउ’ एसिड पीडितहरुको बायोपिक फिल्मका रुपमा निर्माण हुन लागेको हो । 

फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरू रहने छन् । फिल्ममा एसिड आक्रमणबाट पीडितहरुको पनि अभिनय रहनेछ । 

मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतले फिल्ममा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ । अभिनेता ढुंगाना पनि फिल्ममा केमियो रोलमा देखिने छन् । 

एसिड आक्रमणका घटना भएका ठाउँमा यो फिल्म छायांकन गर्ने तयारी छ । 

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’मा अतिथि कलाकारका रुपमा देखिँदै छन् ।

उनको भूमिकामा दृश्य  निर्माण टिमले गत शनिवार खिचिसकेको छ । साम्पाङले फिल्ममा मेयरकै भूमिकामा अभिनय गरेका हुन् । अभिनयपश्चात मेयर साम्पाङले धराङमा छायांकन हुने फिल्मको टिमलाई विशेष सहयोग गर्ने समेत जनाएका छन् । 

सुरज सुनुवारको निर्देशनमा बनिरहेको यो फिल्म ‘लाइट कमेडी’ जनरामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारहरू देखिँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्