काठमाडौँ, १९ असोज — नेपाली कांग्रेसले माओवादी मन्त्रीलाई हटाउने विषयमा कुनै छलफल नभएको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले—माओवादी केन्द्रबीच नयाँ समीकरण बनेपछि माओवादी मन्त्रीलाई हटाउने विषयमा छलफल थालेको भनिएको बेला कांग्रेसका एकजना प्रभावशाली मन्त्रीले सो बारे पार्टीमा कुनै छलफल नभएको बताएका हुन् । कांग्रेस नेता प्रकाश शरण महतले पार्टीमा माओवादी मन्त्रीलाई हटाउने बारेमा कुनै छलफल नभएको बताए |

‘पार्टीमा माओवादी मन्त्रीलाई हटाउने बारेमा कुनै छलफल भएको छैन, यो हल्ला कसरी बाहिर आयो बुझ्न सकिएको छैन’, बिहिबार साँझ पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘हामीले स्थानीय तह र सरकारमा सहकार्य गरेको हो तर अचानक एमालेसँग सहकार्य गर्ने जुन कुरा आएको छ । यो अस्वाभाविक गठबन्धन पछि हामीले पनि आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने पहल चाहिँ थालेका हौं ।’
बालुवाटारमा बसेको उक्त बैठकमा आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा समेत छलफल भएको अर्का नेता एनपी साउदले जानकारी दिए ।
बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि काँग्रेसले पनि लोकतान्त्रिक मोर्चा गठन गर्ने बुधबार निर्णय गरिसकेको छ ।
काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बुधबार बसेको बैठकमा लोकतान्त्रिक मोर्चा बनाउने सहमति बनेको थियो ।
यद्यपी यसबारे बिहिबार थप छलफल गरेर निश्कर्षमा पुग्ने भनिएपनि साँझसम्म बैठक भने बस्न सकेन । तर, ६ वटै पार्टीबाट मोर्चाका लागि कार्यदलमा रहनेहरुको नाम भने टुंगो लगाइएको बताइएको छ ।