लोकतान्त्रिक गठबन्धनमा रहेका ६ दललाई उनीहरूले दाबी गरेअनुसार सन्तुष्ट बनाएर निर्वाचनमा जान सक्नेमा कांग्रेसभित्रै शंका गर्न थालिएको छ । गठबन्धनमा नीति, सिद्धान्त, मुद्दा नमिल्ने दलहरू रहेकाले केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्ने विषय कांग्रेसमा उठेको छ, नयाँ पत्रिकामा खबर छ ।

कमल थापा नेतृत्वको राप्रपाले १२ देखि १५ सिटमा दाबी गरेको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले पनि योभन्दा कम संख्यामा चित्त बुझाउने सम्भावना देखिँदैन । स्थानीय तहको निर्वाचनमा चौथो शक्तिका रूपमा उदाएको उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमले पनि राप्रपाको भन्दा धेरै सिट माग्ने देखिएको छ । ६ दल मिलेर बनेको राजपाले पनि फोरमभन्दा कममा चित्त बुझाउँछ भन्ने छैन । फोरम लोकतान्त्रिक र अन्य दललाई समेट्दा कांग्रेसलाई आधाभन्दा बढी सिट छाड्नुपर्ने देखिन्छ । ‘दलहरूको आकांक्षा धेरै देखिन्छ,’ कांग्रेस नेता प्रकाश शरण महतले भने, ‘यस्तोमा गठबन्धन नै बन्ने सम्भावना कम छ । आवश्यकताका आधारमा तालमेल भने हुन सक्छ ।’