
काठमाडौं २० असोज–दुई बर्षअघि छुट्टिएका नेपाली कम्युनिष्ट आन्दोलनका दुई हस्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एकै ठाउँमा आइपुगेका छन् ।
संविधानसभाबाट संविधान जारी भएलगत्तै बाबुरामले माओवादी छाडेका थिए । प्रचण्ड र बाबुरामबीच तीन दशक लामो सम्बन्धमा दरार उत्पन्न भएको घटनालाई महत्वका साथ हेरिएको थियो ।
वामपन्थी राजनीतिमा कलम चलाउने पत्रकार नेत्र पन्थीले प्रचण्ड–बाबुरामबीचको उतार चढावपूर्ण सम्बन्धलाई लिएर ‘डिभोर्स’ नामक पुस्तक नै लेखेका थिए । पत्रकार पन्थी प्रचण्डसँगको ‘इगो’का कारण बाबुराम माओवादीमा फर्किन नसकेको टिप्पणी गर्छन् ।
२०७२ साल असोजमा माओवादी परित्याग गरेका बाबुराम र प्रचण्डबीच २०७४ सालदेखि पुनः राजनीतिक सम्बन्ध गासिएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकीकरण सम्बन्धी ६ बुदे सम्झौतामा प्रचण्डसँगै बाबुरामले हस्ताक्षर गरेका छन् ।
पूराना राजनीतिक पार्टीबाट देशको समृद्धि सम्भव नभएको भन्दै बैकल्पिक राजनीतिको धार शुरु गर्दै नयाँ शक्ति पार्टी स्थापना गरेका बाबुराम छोटो समयमै वामपन्थी राजनीतिमा फर्केका छन् ।
‘नयाँ शक्ति मार्फत बाबुरामले छुट्टै शक्ति निर्माण गर्ने कोशिष गरे, तर सांगठानिक र राजनीतिक रुपले सफलता हासिल गर्न सकेनन्’ डिभोर्सका लेखक पन्थी भन्छन्, ‘प्रचण्डसँगको इगोका कारण माओवादीमा जान सकेनन्, आमने सामने हुन नसकेपछि प्रचण्ड र बाबुरामबीच धुम्तीमा भेट भयो ।’
तीन पार्टी एकीकरण भएर बन्ने नयाँ पार्टीको नेतृत्वको श्रेणी कस्तो हुने भन्ने अझै यकिन भइसकेको छैन । तर भोलिको दिनमा प्रचण्डलाई नेता मान्न बाबुराम राजी भएको देखिन्छ । ‘भोलिको दिनमा तीन पार्टीको एकता सम्भव भएन भनेपनि वामपन्थी गठबन्धन प्रचण्ड र बाबुरामलाई जोडने रसायन बन्ने देखिन्छ’ पन्थीको टिप्पणी छ ।
बाबुराम स्वयम्ले भने आफू माओवादी–एमाले गठबन्धनमा सामेल भएको नभइ तीनवटै दल बिघठन भएर नयाँ राजनीतिक दल बन्न लागेको रुपमा अर्थाएका छन् ।
मंसिरमा हुने प्रतिनिधि सभाको चुनावपछि बन्ने दल समाजवादी सिद्धान्तमा आधारित नयाँ पार्टी बन्ने उनको दलिल छ ।
वामपन्थी गठबन्धनमा रहेका तीन शीर्ष नेता मध्ये केपी ओली र बाबुरामले पार्टीको चरित्र समाजवादी हुने बताएका छन् भने प्रचण्डले चाहिं कम्युनिष्ट रहनुपर्ने बताएका छन् ।
विगतमा प्रचण्ड र बाबुरामको सम्बन्ध उतारचढाव पूर्ण रहदै आएको थियो । मोहन बैद्य, नारायणकाजी श्रेष्ठसँग मिलेर धोविघाट गठबन्धनबाट प्रधामनन्त्री बन्ने भूमिका बनाएको भन्दै प्रचण्ड बाबुरामसंग सशंकीत रहदै आएका थिए ।
लोकान्तरसँगको एक अन्तर्वार्तामा बाबुरामले भनेका छन्, ‘प्रचण्डले बाबुरामसँग संघर्ष प्रधान हो र मोहन बैद्यसँग एकता प्रधान हो भनेर भनिदिनुभयो ।’
माक्सवादी अर्थशास्त्र र समाजवादका व्याख्याताका रुपमा बाबुरमलाई वामपन्थी गठबन्धनमा सामेल गरिएको एमाले–माओवादी बृत्तमा चर्चा छ । सधै पार्टीमा दोस्रो तहमा बसेर काम गरेकोले बाबुरामको इच्छा चाहिं केही समय पार्टीको नेतृत्व गर्ने रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् ।