२२ असार २०८३, सोमबार

दोलखाको सहकारीबाट ३२ लाख चोरी, व्यवस्थापकलाई निलम्बन गरेर छानबिन हुँदै

माघ २१, २०८०
दोलखा
दोलखाको सहकारीबाट ३२ लाख चोरी, व्यवस्थापकलाई निलम्बन गरेर छानबिन हुँदै
फाइल फोटो

दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ ।

केही दिनअघि  दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासन समक्ष उजुरी गरेका छन् ।

चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् ।

प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।

दोलखाकै मेलुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले रु एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ ।

हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ ।

सहकारीका अध्यक्ष श्रीराज पोखरेलका अनुसार हिनामिना भएको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको छ ।

दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि  रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ ।

स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि रु २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ ।

सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्