
विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार सय करोडको लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको हो ।
क्यान्सर दिवसको अवसर पारेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उक्त क्यान्सर इन्स्टिच्युटको उद्घाटन गरेका हुन् । २५ बिगाहा क्षेत्रफलमा फैलिएको विराट मेडिकल कलेजमा १२ सय शय्या छन् । जस अन्तर्गत आइसीयु मात्र १ सय ५० रहेका छन् ।
१२ सय शय्या मध्ये १ सय शय्या क्यान्सर रोग विभागको लागि छुट्याएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
आवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउने उनले बताए ।
क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पुर्याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि शुरू गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको बिहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको हो ।

रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमो थेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्माेनल थेरापी, सर्किजल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनलरेडियोलोजी,स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा छन् ।
यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविद्द्वारा परामर्शलगायतका सेवा रहेका छन् ।
क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ ।
अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको लेटेष्ट उपकरण मात्रै ल्याएको कार्कीले बताए ।

अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियदर्शी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, क्यान्सर शल्य चिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्र नारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानु प्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ ।
क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरू समेत छन् ।
क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ ।