१५ असार २०८३, सोमबार

लुम्बिनी सरकारले विभिन्न कार्यक्रम गरेर मनायो प्रदेश स्थापना दिवस, प्रमुख प्रतिपक्षी एमाले असन्तुष्ट

माघ २१, २०८०
बुटवल
लुम्बिनी सरकारले विभिन्न कार्यक्रम गरेर मनायो प्रदेश स्थापना दिवस, प्रमुख प्रतिपक्षी एमाले असन्तुष्ट

लुम्बिनी प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकै दिन मनाउन शुरू गरिएको छ ।​

संघीयता कार्यान्वयन गर्दै जनताको घरदैलोमा सरकार पुगेको अनुभूति गराउनेगरी काम गर्न प्रदेश सरकारले दृढता व्यक्त गरेको छ । प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिँदै सातौं स्थापना दिवस मनाइएको हो ।

राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोह आयोजना गरेर दिवसलाई संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरू सिक्न सक्ने अवस्थामा पुगेको, अझैं पनि संविधानमा लेखिएका अधिकारहरू प्रदेश तहमा आइनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउनेगरी भूमिका खेल्न आवश्यक रहेको प्रदेश प्रमुख अमिक शेरचनले बताए ।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस वर्ष दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको थियो । 

जस अनुसार आइतवार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने फागुन ३ सरकार गठन भएको दिनको इतिहास मेटाउनेगरी एकैदिन दिवस गाभिएको प्रति असन्तुष्टि जनाएको छ ।​

संघीयताले सबै जातजाति, धर्म संस्कृतिलाई जोड्न सफल भएको बताउँदै अब संघीयताबाटै मुलुकको विकास सम्भव रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । उनले संघीयता भनेकै विविध संस्कृतिबीको एकता रहेको धारणा राखे ।​

संघीयतालाई बलियो बनाउने गरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरू भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसका लागि प्रदेश सभाले स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम नै सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको सभामुख तुलाराम घर्ती मगरले बताए ।

पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयतामानै सबैको अस्तित्व समावेश हुने भएकाले यो नै उत्तम व्यवस्था रहेको बताए ।

संस्थापक प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभाले लोगो समेत वितरण गरेको छ ।

लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको उपलब्धि संघीयता भएकाले यसको कार्यान्वयनको लागि सबै तह र क्षेत्रबाट प्रभावकारी भूमिका आवश्यक रहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

थारू, मगर, नेवार लगागत समुदाय विशेषको झाँकीहरू प्रदर्शन गरिएको थियो । हिउँदे झरीको प्रवाह नगरी अघि बढेको दिवस मूल समारोहमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्सहित दश वटा मन्त्रालय तथा प्रदेश सभाले स्टल राखेर भए गरेका प्रगति र उपलब्धिहरू पनि सार्वजनिक गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्