२८ जेठ २०८३, बिहीबार
सहकारी समस्या

४४ वर्ष पुरानो सहकारीको बिजोग: १७ वर्षदेखि भएन साधारणसभा, जोखिममा बैंकको ऋण

माघ २२, २०८०
काठमाडौं
४४ वर्ष पुरानो सहकारीको बिजोग: १७ वर्षदेखि भएन साधारणसभा, जोखिममा बैंकको ऋण

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीस्थित साझा सहकारी संस्थाको डेढ दशकदेखि साधारण सभा हुन सकेको छैन । सहकारीले १७ वर्षदेखि साधारण सभा गर्न नसकेको हो । ४४ वर्ष पुरानो सहकारीको साधारण सभासमेत गर्न नसकेर बिजोग भएपछि कृषि विकास बैंकको ३ करोड रुपैयाँ ऋणसमेत जोखिममा परेको छ । सहकारीले तत्कालीन अवस्थामा बैंकबाट तीन करोड ऋण लिएको थियो । 

सहकारी ऋण तिर्न नसक्ने अवस्था पुगेको छ । सहकारीको सम्पत्ति बेच्दासमेत ऋण तिर्न नपुग्ने सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको होक्लाबारी, रँगेली नगरपालिकाको बबिया तथा बेलबारी नगरपालिकाको बाहुनीमा जग्गा छ । तीनै ठाउँको जग्गा बेचे पनि ऋण तिर्न नपुग्ने अध्यक्ष झापटबहादुर कुँवरले बताए ।  

तत्कालीन अध्यक्ष भूपनारायण गच्छदारले नेतृत्व गरेकै बेलादेखि सहकारीको अधोगति सुरु भएको सदस्यहरू बताउँछन् । ‘यो सहकारीले पहिला मल पनि एक्लै बेच्थ्यो,’ होक्लावारीका एक तत्कालीन जनप्रतिनिधिले भने, ‘पछि सहकारी संस्थाहरू थपिए । उनीहरूले पनि बेच्न थाले । यो डुब्दै गयो ।'

हाल सहकारीको अध्यक्ष कुँवर र व्यवस्थापकमा टिकाराम लुइँटेल छन् । अध्यक्ष कुँवर पनि ती जनप्रतिनिधिको कुरामा सहमत छन् । पूर्वअध्यक्षहरू गच्छदार र देवी संग्रौलाहरूको पालामा नै सहकारी डुबेको उनको दाबी छ ।  सहकारी निष्क्रिय भएपछि मात्रै आफू अध्यक्ष बनेको उनले बताए । 

null

सहकारीबाट तत्कालीन अवस्थामै २२ जनाले ऋण लिएका थिए । २०४० सालमा २२ जनाले ५ हजारका दरले साँवा ऋण लिएको र अहिलेसम्म नतिरेको सहकारीले जनाएको छ । 

अहिले ब्याजसमेत असुल गर्दा ९५ हजार पुग्ने उनको भनाइ छ । त्यसबेला सावा मात्रै साढे ३ लाख हाराहारीमा ऋण लगानी गरेको सहकारीले अहिले ब्याज, हर्जाना गर्दासमेत बैंकको ऋण तिर्न पुग्ने अवस्था छैन । अहिले ब्याजसहित १९ गुणा बढी असुल गर्दा पनि बैंकको ऋण तिर्न नपुग्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । 

अबको एक हप्तामा सहकारीको विस्तृत अडिट गरेर साधारण सभा गर्ने अध्यक्ष कुँवरले बताए । शेयर सदस्यहरूले भने संस्थाको कारोबार, अडिट रिपोर्ट र माइन्यूटको अवस्था सार्वजनिक हुनुपर्ने माग गरेका छन् । सहकारी २०३६ सालमा स्थापना भएको हो । सहकारीमा ५ सय बढी शेयर सदस्य रहेका थिए । 

२०६३ सालको अडिट रिपोर्टमा २१ लाख रुपैयाँ ऋण लगानी गरेको उल्लेख गरे पनि त्यसयता लथालिङ्ग रहेको जग्गा दाता गोपाल कार्कीले बताए । कार्कीले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । होक्लाबारीमा भएको ३ कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा दानबाट पाएपछि अर्काे १ कट्ठा जग्गा सहकारीले नै खरिद गरेको थियो ।

उक्त भवन र जग्गामा प्रहरी चौकी राख्न गाउँपालिकाले सिफारिस गरेपछि सेयर सदस्यहरू आन्दोलित भएका हुन् । हिसाब सार्वजनिक भएपछि मात्रै चौकी राख्न दिने सेयर सदस्यहरूको भनाइ छ । 

स्थानीयले सहकारीको हिसाब किताबबारे छानबिनको माग गर्दै यसअघि नै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । सहकारीको हिसाबकिताब छानबिनका लागि प्रदेश रजिस्ट्रार कार्यालयमा पठाइएको कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए । 

यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने सहकारीको हिसाब किताब पारदर्शी बनाउन अध्यक्ष र व्यवस्थापकलाई बोलाएर छलफल गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्