
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ फिल्म साइन गरेकी छन् । अनिल योञ्जनको निर्देशनमा निर्माण हुने फिल्म ‘रुमानी रंग’मा उनले अभिनय गर्ने भएकी हुन् ।
सोमवार मात्रै निर्माण घोषणा भएको यो फिल्ममा साम्राज्ञीले अभिनेता आर्यन अधिकारीसँग स्क्रिन सेयर गर्ने छिन् ।
जि एम ठकुरी प्रस्तुतकर्ता रहेको फिल्म ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि. र आविष्कार बहुसंचार प्रा.लि.को सहकार्यमा निर्माण हुन लागेको हो ।

सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सारु र विजय अधिकारी सह निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुरी छन् ।
महेश पौडेलले खिच्ने फिल्मलाई श्रीराम बालाजी फिल्मसले वितरण गर्नेछ ।
फिल्मको छायांकन कहिलेदेखि सुरु हुने भन्नेबारे भने निर्माण टिमले केही खुलाएको छैन ।
अभिनेत्री साम्राज्ञी पछिल्लो समय फिल्म ‘नांगो गाउँ’मा देखिएकी थिइन् । उक्त फिल्म बक्स अफिसमा हिट भएको थियो ।