![पोखरामा ‘दयारानी’को प्रिमियर, मेयरदेखि कलाकारसम्म पुगे [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Dayarani-Primiere-cover_vUh9UDxmgF.jpg)
शुक्रवारबाट प्रदर्शनमा आउने दयाहाङ राई र दीया पुन अभिनीत फिल्म ‘दयारानी’को पोखरामा प्रिमियर गरिएको छ । आइतबार पोखरास्थित मिडटाउन सिनेमाजमा गरिएको प्रिमियरमा मेयरदेखि कलाकारसम्म सहभागी रहे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटीलगायतले प्रिमियरमा फिल्म हेरे ।
‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन लगायत प्रिमियरमा उपस्थिति थिए ।

प्रिमियर शोमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र फिल्म क्षेत्रका गतिविधिहरू भइरहेको देख्दा खुशी लागेको बताए ।
प्रिमियरमा ‘दयारानी’ले राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले देखाउन खोजेको कथा उपस्थित अतिथि दर्शकलाई मन परेको छ ।
प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्म हेरिसकेपछि भने, ‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । फिल्मको कथा उत्कृष्ट छ । फिल्ममा पात्रले निभ्याएको भूमिका तारिफयोग्य छ ।’

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ फिल्म छायांकनका लागि उत्कृष्ट रहेको भन्दै ‘दयारानी’ मार्फत याङ्जाकोटको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने, – ‘कलाकार भएर थुप्रै फिल्ममा अभिनय गरिएको छ । अभिनयमा त्यति अप्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’

अभिनेत्री दीया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । यो फिल्मले आफ्नो कलाकर्ममा अगाडि बढ्न सहयोगी हुने विश्वास व्यक्त गरिन । फिल्ममा रानीको भूमिकामा रहेकी दीयाले माओत्से गुरुङको निर्देशनमा सामाजिक परिवेशलाई फिल्मको पर्दामा ल्याइएकाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको बताइन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतको समेत अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

