
काठमाडौं २० असोज– ज्वरो आउँने, आँखाको माथिल्लो भाग र शरीरको जोर्नीहरु दुख्ने समस्या भएपछि सर्लाहीकी अनितालाई उनका पति रविन्द्र चौधरीले लालबन्दीकै सरकारी अस्पतालमा लगे ।
अस्पतालले शुरुमा के रोग लागेको भन्ने पत्ता नै लगाउन सकेन । ४ पटकसम्म रगत परीक्षण गरेपछि अनितालाई डेंगुको संक्रमण भएको पत्ता लागेको उनका पति रविन्द्रले बताए । उनले भने,‘ जहानलाई डेंगु भएको थाहा भएपछि दुई दिन भयो, काठमाडौं ल्याएको ।’
अनिताको अहिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ । घरमा झुलको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिएकै भएपनि अनितालाई डेंगुको संक्रमण भएको रविन्द्रले बताए । ‘घरमा त झुल हालेका छौं तर पनि गाउँमा धेरैलाई डेंगुले सताएको छ । वर्खामा बाढीले गर्दा गाउँमा सरसफाइ छैन, लामखुट्टे त जतिवेला नि हुन्छ । सरकारले पहिला नै गाउँमा सरसफाइको बारेमा जानकारी गराएको भए अलि कम हुन्थ्यो होला ।’

अनिताको छेउमा रहेको अर्को शैयामा रहेकी धनुषाकी तारा खड्कालाई पनि डेंगुको संक्रमण भएको छ । सुरुमा बर्दिबासमा उपचार गराएकी खड्कालाई त्यहाको अस्पतालले काठमाडौं रिफर गरीदिएपछि उनी अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत छिन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
चौधरी र खड्का मात्रै हैन । सर्लाही, धादिङ, धनुषा लगायतका जिल्लाबाट आएका डेंगुका विरामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भरिभराउ छ । हालसम्म ९० जना बिरामी अस्पतालमा भर्ना भएरै उपचार गराएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए । भर्ना नभइ उपचार गरेर फर्कने र जिल्ला अस्पतालहरुमा पनि विरामीको चाप उत्तिकै रहेको उनको भनाइ छ ।
सरकारले समयमै सचेतनाको कार्यक्रमहरु गर्न नसक्दा डेंगुको संक्रमण फैलिएको डा. पुनले बताए । उनले लोकान्तरलाई भने,‘ यसको नियन्त्रण भनेको पहिला नै सावधानी अपनाउनु हो । सरकारले अहिले त अभियानहरु चलाईरहेको छ । यो कार्य राम्रो हो । तर अलि अगाडि नै पूर्व तयारी र जनचेतना सम्भावित र प्रभावित क्षेत्रमा पुगेको भए संक्रमण बढ्ने थिएनन् ।’
डेंगुको छुट्टै औषधी नहुने भएकाले लक्षणको आधारमा औषधि उपचार गर्ने गरेको डा.पुनको भनाइ छ ।
सर्लाही, महोत्तरी, चितवन र धादिङ जिल्लाका मात्रै २ सय विरामीमा डेंगुको संक्रमण देखिएको र उनीहरुको उपचार भईरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका विपद व्यवस्थापन प्रमूख एवं उप स्वास्थ्य प्रशासक डा.भेषराज पोख्रेलले बताए ।
उनले भने,‘ डेंगुको संक्रमण सर्लाहिको लालबन्दीमा सबैभन्दा धेरै छ । त्यहा हालसम्म १ सय ८ जनामा डेंगुको संक्रमण देखिइसकेको छ । यस्तै धादिङ चितवन महोत्तरीमा पनि डेंगुका विरामी उत्तिकै छन् । टेकुमा जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीहरु पनि उपचार गराउदै छन् । अहिले जिल्लाका अस्पतालहरुमा पनि डेंगुका विमारीको चाप छ ।’

डेंगुको संक्रमण फैलिएपछि प्रभावित जिल्लाहरुमा विशेष अभियान नै संचालन गरेर डेंगु प्रकोप निम्त्याउने एडिस जातको लामखुट्टेको बासस्थान नष्ट गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।
डेंगुको प्रकोप कात्तिक महिनासम्म हुनसक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीयले विशेष सावधानी अपनाउनु पर्ने पोख्रेलले बताए । उनले भने,‘हामीले पनि प्रभावित क्षेत्रमा अभियानहरु चलाइरहेका छौंं । यसको संक्रमण अझै एक डेढ महिनासम्म रहिरन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सर्तकता अपनाउनु पर्छ ।’
डेंगु संक्रमित लामखुट्टेले बिहान दिउँसो र साँझमा आक्रमण गर्ने भएकाले त्यस समयमा विशेष सर्तकता अपनाउन उनको सुझाव छ ।