
काठमाडौं, २० असोज- नेपालमै पहिलोपटक बिटक्वाइनका कारोबारी पक्राउ परेका छन् । अबैध घोषित बिटक्वाइन (विद्युतीय मुद्रा) कारोबारमा संलग्न सात जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको जनाएको छ । गत मंगलबार र बुधबार काठमाडौं र चितवनका विभिन्न स्थानबाट पक्राउ पर्नेहरुमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, सिन्धुपाल्चोकका मिङमार तामाङ, नुवाकोटका विन्दा ढकाल, रुपन्देहीका मनीषकुमार गिरी र ललितपुरका दमन बस्नेत रहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा निकै महँगो मूल्यमा कारोबार भइरहेको बिटक्वाइनलाई नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरिसकेको छ । उनीहरुको साथबाट प्रहरीले बिटक्वाइन कारोबारमा प्रयोग गरिएको मोबाइल र ल्यापटपसमेत बरामद गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सन् २००९ देखि सुरु भएको बिटक्वाइनको कारोबार नेपालमा भने सन् २०१३ बाट हुन थालेको पाइएको पनि प्रहरीले जनाएको छ ।
यो समूहले झन्डै १० लाख डलर बराबरको बिटक्वाइनको कारोबार गरेको देखिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आवश्यक अनुसन्धान कार्य भैरहेको जनाएको छ । प्रतिविटक्वाइन १० सेन्टबाट सुरु भएको बिटक्वाइनको मूल्य अहिले ४ हजार ३९३ अमेरिकी डलर पुगेको छ ।
प्रहरीका अनुसार कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन । यसैगरी यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ ।
यसअघि नेपाल राष्ट्र बैंकको अनुसन्धानले नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन रहेको देखाएको थियो । बिटक्वाइनको कारोबारले अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै विश्वका थुप्रै देशले बिटक्वाइन कारोबारलाई अवैध घोषणा गरिसकेका छन् ।