
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सिंहदरबारमा मंगलवार आयोजित मानवअधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले मानवअधिकारसँग सम्बन्धित सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको दाबी गरे ।
‘नेपालको संविधान, कानून, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानवअधिकार नै हो,’ उनले भने, ‘मानवअधिकार बिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।’
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गरे ।
उनले मानवअधिकारको संरक्षण र सम्बर्द्धनको जिम्मेवारीसहित प्रभावकारी अनुगमन र सुपरीवेक्षण गर्ने राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका विभिन्न संवैधानिक आयोगको स्थापना भई क्रियाशील रहेको स्मरण गरे ।
प्रधामन्त्री प्रचण्डले मानवअधिकारको हननमा स्वतन्त्र र सक्षम न्यायपालिकाबाट उपचार प्रदान गर्ने संवैधानिक प्रत्याभूति गरिएको दाबी गरे ।
‘मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गैरसरकारी संस्था, नागरिक समाजसँगको समन्वयात्मक रूपमा मात्र सफल हुने कार्य भएको हुँदा मानव अधिकारको क्षेत्रमा सम्बद्ध क्रियाशील निकायको महत्त्वपूर्ण भूमिकालाई उपयोग गरी विभिन्न चेतनामूलक कार्यक्रमहरू सशक्त बनाइएका छन्,’ उनले थपे ।