कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यका लागि तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औं डफ्फालाई बदली गर्न सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
२९ औं डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फा, नं. २७ फिल्ड गुल्म (शान्ति सेना) २७ औं डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो ।
तेस्रो डफ्फाका कुल १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा आज मिसन इलाका प्रस्थान गरेका सेनाले जनाएको छ ।
यस्तै, सो मिसनअन्तर्गत विभिन्न युनिटमा रहेका १८६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी शान्तकुमार कार्कीको नेतृत्वमा आजै स्वदेश फर्किएका छन् ।
हाल विभिन्न युनिटहरुमा र स्टाफ तथा सैनिक पर्यवेक्षकको नियुक्तिमा नेपाली सेनाका १ हजार १५३ जना शान्ति सैनिकहरू कार्यरत रहेका सेनाले जनाएको छ ।