
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।
००००
सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश दिएको छ ।
००००
सर्वोच्च अदालतले फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलवार साँझ सूचना जारी गर्दै सर्वोच्चले यस्तो घोषणा गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते ‘जनयुद्ध’को नाममा सशस्त्र युद्ध शुरू गरेको थियो । अहिले उनै प्रचण्ड प्रधानमन्त्री छन् ।
००००
सरकार विस्तारमा ढिलाइ गरिरहेको कोशी प्रदेश सरकार बेमौसमी कर्मचारी सरुवामा भने अगाडि देखिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्रालयअन्तर्गत रहेका यातायात कार्यालयहरूमा यतिबेला सरुवाको चलखेल भइरहेको छ । सामान्यतय आर्थिक वर्ष शुरू भएपछि दुई वर्ष पुगेका तल्लो तहका कर्मचारीलाई सरुवा गर्ने प्रचलन छ ।
००००
कर्मचारी कोटामा छोरा सुनिल अधिकारी (यादव)लाई विदेश भ्रमणमा पठाएका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ ।
मन्त्री यादवका छोरा सुनिल गत माघ ३ देखि ८ गतेसम्म कर्मचारी कोटामा मन्त्रालयका कर्मचारीसँगै भारतको उडिसा प्रदेश पुगेका थिए । मन्त्री यादवले सुनिललाई उपसचिव सरहको सेवा सुविधामा स्वकीय सचिव नियुक्त गरेका छन् ।
००००
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको संयुक्त सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पद्म प्रसाद पाण्डेलाई संसद्को महासचिव नियुक्त गरेका छन् ।
००००
नेता–कार्यकर्ताबीच कुटाकुट भएपछि रोकिएको नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन फेरि सुचारु हुने भएको छ ।
नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलवार विज्ञप्ति जारी गर्दै माघ २१ मा रोकिएको उक्त अधिवेशन फेरि शुरू हुने जानकारी दिएका छन् ।
००००
नेपालका उत्तरी नाकाबाट बिरामी उद्धारको बहानामा समेत सुन तस्करी हुने गरेको तथ्य खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको विद्युतीय चुरोट (भेप) र ६०.७१६ केजी सुन तस्करीको विषयमा जाँचबुझ गर्न बनेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग’ले गरेको अनुसन्धानमा यस्तो तथ्य खुलेको हो ।
विशेष गरी उत्तरी नाका नजिकबाट हुने हवाई उद्धारका क्रममा सुन तस्करी गरेको तथ्य खुलेको आयोगका अध्यक्ष तथा पूर्व न्यायाधीश डिल्लीराज आचार्यले बताए ।
००००
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिएका हुन् ।
००००
विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) गत वर्षभन्दा यस वर्ष बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनअनुसार देशको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको हो ।
००००
चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले साढे ५२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले जानकारी दिए ।
००००
नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न पुनः टेन्डर आह्वान गरेको छ । पहिलो सूचनाअनुसार टेन्डर नपेरपछि २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज बिक्री गर्न निगमले पुनः टेन्डर आह्वान गरेको हो ।