
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केसाङ्ग योल्मुसहित लागुऔषध तथा संगठित अपराधमा संलग्न सात जनाविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । विभागले मंगलबार योल्मुसहित सात जनाविरुद्ध पाँच करोड २७ लाख दुई हजार ८५५ रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरेको हो ।
विभागका अनुसार उनीहरूविरुद्ध लागुऔषध तथा संगठित अपराध मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
उनीहरूले गैरकानूनी रूपले लागूऔषधको ओसारपसार र बिक्री वितरण गरी अवैध सम्पत्ति आर्जन गरेर बैंकिङ प्रणालीमा प्रवेश गराएको विभागको दाबी छ ।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ दफा ३० को उपदफा (१) र (२) बमोजिमको अलग-अलग सजाय साथै कसूरबाट प्राप्त सम्पत्तिसमेत जफत गर्न मागदाबी गरिएको छ ।
ऐनको दफा ३० को उपदफा (१) मा कसूरको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म कैद सजाय हुन् व्यवस्था छ ।