
नेपाली नाट्यसम्राट बालकृष्ण सम (विसं १९५९–२०३८) को १२२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जन्मजयन्तीमा उनको व्यक्तित्व र कृतिबारे चर्चा गरिएको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँको नक्सालमा आज आयोजित कार्यक्रमका सहभागीले नाट्यसम्राट समको बहुआयामिक व्यक्तित्वका बारेमा आफ्ना धारणा राखेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले उनको नाटक गर्दा छुट्टै आनन्द आउने गरेको बताइन् । उनले भनिन्–“समको चिसोचुल्हो नाटक गर्न एकदमै रहर लागेको छ, तर गर्न सकिएको छैन ।”
स्व समले विभिन्न आयाममा लेख्नुभएका मुख्य नाटकलाई विषय बनाएर चित्र सिर्जना गर्ने तयारी गरिएको कुलपति शर्माले जानकारी दिइन् । उनले प्रह्लाद, भीनसेनको अन्त्य, प्रेमपिण्ड, अन्धवेग, स्वास्नी मान्छे र चिसो चुल्होलाई विषय बनाएर चित्रकला प्रतियोगिता आयोजना गरिने बताइन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सम नाट्यसम्राट भए पनि उनले बनाएका चित्र उत्कृष्ट भएका स्मरण गरे ।
समका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा अशोक थापाले सम भर्सटायल व्यक्तित्व भएको बताए । उनले नाटककार, निर्देशकदेखि कलाकार, लेखक, कवि, चित्रकार, जीवनी र कविता लेख्नसक्ने मात्रै नभएर सैनिक पेसादेखि कुशल प्राध्यापकसमेत भएका उनले स्मरण गरे ।
कार्यक्रममा प्राध्यापक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । सो कार्यक्रममा कला समीक्षक रमेशनाथ खनालको लेखन तथा निर्देशन रहेको समको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो ।