
६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस भएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
केही महिना पहिले हङकङबाट काठमाडौं ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया शुरू गर्छन् ।
‘नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिशका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो’, उनले भने ।
अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
काठमाडौंको ठमेलस्थित होटल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।