
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताएका छन् ।
आज सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गरे ।
उनले भने, “आयोगलाई स्वायत बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायतता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।”
त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उनले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताए ।