१४ असार २०८३, आइतबार

परहितका लागि प्राणदान

कात्तिक २०, २०७४
परहितका लागि प्राणदान
राजर्षि शिविको नाम त हामीमध्ये धेरैले सुनेको हुनुपर्छ । पौराणिक ग्रन्थहरूले यी राजर्षिलाई त्यागका प्रतीक मानेका छन् । अहिले पनि कुनै असीम त्यागको उदाहरण दिनुप–यो भने उनकै नाम लिने गरिन्छ । यसबाहेक वैदिक ग्रन्थहरूमा समेत उनको स्थान निकै समुन्नत पाइन्छ ।kamal rijal

खासगरी ऋग्वेद मण्डल १० सूक्त १७९ को साक्षात्कारकर्ता उनै मानिएका छन् । देवराज इन्द्रको प्रशस्ति वर्णन भएको यस सूक्तमा कुल तीनवटा मात्र मन्त्र छन् । मन्त्रको संख्यात्मक हिसाबले यो सूक्त त्यति ठूलो छैन तर महत्त्व र विशेषताको दृष्टिले भन्ने हो भने यो कुनै पनि अन्य सूक्तभन्दा कम छैन ।

वस्तुतः यो सूक्त ज्ञानको हिसाबले जति महत्त्वको पाइएको छ, विज्ञानको दृष्टिले पनि त्यति नै महत्त्वको देखिएको छ । वैदिक सूक्तहरू आध्यात्मिक ज्ञानका सरोवर त यसै पनि हुँदै हुन्, कतिपय सूक्त भौतिक विज्ञानका पनि सरोवर नै मानिन्छन् । प्रस्तुत सूक्तलाई पनि यसै शृङ्खलाभित्र राखेर हेर्न सकिने प्रशस्त आधार छन् । खासगरी सूक्तका दोस्रो मन्त्र भौतिक विज्ञानको नजिक देखिएको छ भने तेस्रो मन्त्रलाई आध्यात्मिक ज्ञानको विशिष्ट नमूनाको रूपमा लिन सकिन्छ ।Jeevan Darshan pic

वेदले सूर्यलाई सारा संसारको स्रोत मात्र मानेको छैन, उसका बिम्ब, रथ तथा गति र विशेषताको छिनोफानो समेत गरिसकेको छ । बिस्तारै विज्ञान पनि सोही मार्गमा आरूढ हुँदैछ र हालसम्म उसका बिम्ब तथा विशेषताका बारेमा निकै बोलिसकेको पनि छ । आशा गरौं, भविष्यमा रथ, गति तथा थप विशेषताका बारेमा पनि बोल्दै जानेछ । त्यस्तै प्रस्तुत सूक्तमा मध्याह्न यज्ञको जुन चर्चा आएको छ, यसलाई पनि आध्यात्मिक ज्ञानको क्षेत्रमा छुट्टै विशेषता मान्नैपर्छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार राजर्षि शिवि चन्द्रवंशी सम्राट् ययातिको वंशज मानिन्छन् । यी ययाति तिनै हुन् जो उमेर पनि सट्टापट्टा गर्नसक्ने वैज्ञानिक समेत मानिएका छन् । संसारमा कतै पनि एउटाको उमेर साटेर अर्कोले उपभोग गर्नसकेको उदाहरण भेटिएको छैन । यो प्रकृतिको नियमविरुद्धको काम हो । त्यसैले प्रकृतिको नियमविपरीत कोही पनि जान सक्दैनन्, सकेका छैनन् तर राजर्षि ययातिलाई भने अपवादमै लिनुपर्ने अवस्था छ । उनले कान्छा छोरा पुरुसित जवानी साटेका मात्र छैनन्, लामो समयसम्म उपभोग नै गरेर आफ्ना वैज्ञानिक चेतको राम्रै उदाहरण प्रस्तुत गरेका छन् । राजर्षि शिवि तिनै महान् यौवन वैज्ञानिक ययातिका कान्छी महारानी शर्मिष्ठातर्फका जेठा छोरा अनुका सन्तान हुन् ।

दया, माया, मैत्री करुणा जस्ता दैवी गुणका विशेष खानी नै मानिएका राजर्षि शिविका बुवाको नाम उशीनर हो । उनी आफैं पनि महान् ब्रह्मज्ञानी र परोपकारी मानिएका छन् । उशीनरका शिवि, वन, शमी र दक्ष चार भाइ छोरा थिए । यीमध्ये त्याग र धैर्यका क्षेत्रमा तमाम पूर्वजहरूमा भन्दा पनि तेज रहेका शिवि जेठा हुन् । यिनी बरू हाँसीहाँसी आफैंलाई मेटाउन सक्थे तैपनि दान, धर्म र परोपकार जस्ता दैवी गुणसित सम्झौता गर्न सक्दैनथिए । उनका जीवनमा यस्ता घटना प्रशस्तै देखिएका छन् ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार, एकपटक त्याग र धैर्यको विषयलाई लिएर उनको ख्याति देवलोकसम्म पुगेको थियो । उनको प्रशंसा सुन्दा सुन्दा देवराज इन्द्र पनि आजित भएछन् र उनी आफैं परीक्षण गर्न अग्निदेवलाई परेवाको रूप धारण गर्न लगाई आफू बाज बनेर राजर्षि शिविको दरवरमा आएछन् । उनको अगाडि पुग्नेबित्तिकै पूर्वयोजना अनुसार परेवाले उनको शरणमा परेर प्राणदान माग्न थाल्यो भने उता पछि पछि खेद्दै आएको बाज चाहिँ परेवा नै आफ्नो आहार भएकाले उसलाई कुनै पनि हालतमा आफूले पाउनुपर्छ भन्ने जिद्दी गरिरहेको थियो ।

राजा शिवि राजधर्ममा जति कट्टर थिए, गृहस्थीधर्ममा पनि त्यति नै निपुण थिए । उनीजस्ता नीतिविशारदलाई राजधर्म अनुसार शरणमा आएको प्राणीलाई मरण हुन दिनुहुन्न भन्ने र गृहस्थीधर्म अनुसार घरमा आएका अतिथिलाई भोको रहन दिनु हुन्न भन्ने कुरो थाहा नहने प्रश्नै थिएन । त्यसैले उनी ठूलै धर्मसङ्कटमा परे । के गर्ने के गर्ने । परेवालाई बाजको जिम्मा लगाउँदा शरणको मरण हुने अवस्था थियो भने अर्कोतिर अतिथिलाई भोकै पठाउनुपर्ने अवस्था थियो । यी दुवै उनका निम्ति धर्मविपरीत कुरा थिए । त्यसैले उनले जुक्ति निकाले र बाजका अगाडि आफूले आफ्नै शरीर काटेर परेवाको तौलबराबरको मासु दिने तर बदलामा बाजले परेवालाई छाडिदिनुपर्ने शर्त प्रस्तुत गरे ।

वाजलाई शर्त मन नपर्ने कुरै थिएन । उसले टाउको हल्लाएर स्वीकृतिको सङ्केत ग–यो । त्यसपछि तत्कालै तराजु मगाइयो र राजा शिवि परेवालाई एकपट्टि राखेर अर्कोपट्टि शरीरको मासु काट्दै हाल्दै गर्न थाले तर भइदियो के भने जति नै हाल्दा पनि परेवाको वजन बराबर हुन सकेन । अन्त्यमा आश्चर्य मान्दै राजा आफैं तराजुमा बसे । यसपछि उनको परीक्षा पूरा भयो । परीक्षा लिन आएका अग्नि र इन्द्र आफ्नै रूपमा प्रकट भई क्षमा माग्न थाले ।

राजर्षि शिविका लागि त्याग र परोपकार खानदानी गुणकै रूपमा रहँदै आएको देखिन्छ । उनका पूर्वजहरू पनि त्यस्तै थिए र उनका सन्तान दरसन्तानमा समेत यस्तै गुण भेटिन्छ । उनका वृषादर्भी, सुवीर, मद्र र कैकेय गरी चारभाइ छोरा थिए, जुन उनी जत्तिकै त्यागी र परोपकारी देखिएका छन् । तिनमा पनि जेठा वृषादर्भीको स्थान एकपाइलो अगाडि नै देखिएको छ । यिनको शासनकालमा एकपटक ठूलो अनिकाल परेको थियो । खान नपाएर सर्वत्र हाहाकार फैलियो । त्यत्तिकैमा एकदिन सप्तऋषिहरू उनको दरबारमा भोजन माग्न आएका थिए । दरबारमात्र अनिकालबाट अछुत रहने प्रश्नै थिएन । तै कतैबाट महारानीले त्यस बिहानको छाक जुटाएकी रहिछन् ।
सप्तऋषिहरू आएर मागेकाले उनले त्यसलार्ई समेत सहर्ष समर्पण गरेका थिए ।

निस्सन्देह सम्प्रति यस्ता अद्भुतकर्मा राजर्षि शिविको भौतिक शरीर त हामीमाझ छैन तर उनले आफूलाई मेटाएर भएपनि अरूको सेवा गर्नुपर्छ भन्ने जुन सन्देश दिएर गएका छन् त्यो भने वैदिक सभ्यता र संस्कृति रहेसम्म कायमै रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्