२३ जेठ २०८३, शनिबार

प्रिमियरमा फिल्म ‘दयारानी’ हेरेपछि कसले के भने ?

माघ २६, २०८०
काठमाडौं
प्रिमियरमा फिल्म ‘दयारानी’ हेरेपछि कसले के भने ?

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । 

बिहीवार बेलुका गरिएको प्रिमियरमा फिल्म हेरेका फिल्मकर्मीले यसको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको तारिफ गरेका छन् । 

माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई र दीया पुन स्टारर फिल्मको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरूसमेतको उपस्थिति थियो । 

फिल्मका निर्देशक गुरुङसँग विद्यार्थीकालीन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म आफूलाई मन परेको बताए । ‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा यो फिल्मले बाहिर ल्याउने कोसिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’ प्रिमियरपछि गिरीले भने । 

निर्देशक तथा वितरक अशोक शर्माले अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य रहेको भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘दर्शकलाई एउटा राम्रो फिल्म दिएकोमा उहाँलाई धेरै धेरै बधाई भन्छु । कलाकारहरू सबैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई फिल्म रमाइलो लागेको बताए । ‘फिल्म हेरिरहँदा समय बितेको पत्तै हुँदैन । फिल्मले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’ 

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले टिजर र ट्रेलरले वाचा गरेअनुरुपको फिल्म बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् । ‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो, फिल्म पनि त्यही किसिमको र त्यति नै राम्रो बनेकाले सबै दर्शकलाई यो फिल्म एक पटक हेर्न सिफारिस गर्छु’ उनले भनिन् । 

यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भुमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् । 

अभिनेत्री केकी अधिकारले पनि आफूलाई यो फिल्म मन परेको बताइन् । 

फिल्ममा ‘दयारानी’को शीर्ष भुमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी लागेको प्रतिक्रिया दिइन् । ‘फिल्मको कथा निकै राम्रो छ ।  पर्दामा आफूलाई हेरिरहँदा दीया पुन भन्दा पनि फिल्मकी पात्र दयारानीलाई नै देखेँ ।’ 

यसैगरी प्रिमियरमा सहभागी अन्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । फिल्ममा दयाहाङ र दीयाका साथमा विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुवँर, नयन गुरुङ, पुस्कर गुरुङलगायतका कलाकार छन् ।

salt training

कमेन्ट गर्नुहोस्