०७ असार २०८३, आइतबार
पाकिस्तान चुनाव

पाकिस्तानको चुनावमा अप्रत्यासित नतिजा : इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूको तहल्का

माघ २६, २०८०
काठमाडौं
पाकिस्तानको चुनावमा अप्रत्यासित नतिजा : इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूको तहल्का
फाइल तस्वीर

इमरान खानलाई जेल सजाय तथा पार्टीको चुनाव चिह्न खारेजीका बावजुद पनि पाकिस्तानमा भएको चुनावमा तहरिक-ए-इन्साफ समर्थित उम्मेदवारले धमाधम जितिरहेका छन् ।

अल जजिराका अनुसार दिउँसो सवा १ बजेसम्ममा स्वतन्त्र उम्मेदवारहरूले २३ स्थानमा जीत हात पारेका छन् । तीमध्ये अधिकांश पूर्व प्रधानमन्त्री खानको पार्टी पीटीआई समर्थित रहेको बताइएको छ ।

दोस्रो स्थानमा बिलवाल भुट्टोको पार्टी  पीपीपी छ । उसले २२ सीटमा जीत हात पार्दा नवाज शरीफको सत्तारुढ दल पीएमएलएनले १८ स्थानमा जीतेको छ । ६७ स्थानको नतिजा आउँदा अन्य उम्मेदवारले ४ स्थानमा जितेका छन् ।

बिहीवार मतदान सम्पन्न भएको ९ घण्टापछि मात्र मतगणना शुरू भएको थियो । पाकिस्तानको गृह मन्त्रालयले सुरक्षा व्यवस्था सुनिश्चित गर्नका निम्ति मतगणना ढिलो शुरू गरेको जनाएको छ ।

चुनाव आयोगले एक प्रेस वक्तव्य जारी गर्दै मुख्य चुनाव आयुक्त सिकन्दर सुल्तान राजाले मुख्य सचिव, जिल्ला निर्वाचन अधिकृत र प्रदेश चुनाव आयोगका आयुक्तहरूसँग फोनवार्ता गर्दै छिटोभन्दा छिटो परिणाम सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ । 

बिहीवार अबेर राति आएको एक्जिट पोलअनुसार १०० सीट भन्दा धेरैमा इमरान खान समर्थित निर्दलीय उम्मेदवारहरू अगाडि थिए । त्यसपछि चुनाव आयोगले नतिजा जारी गर्न ढिलो गरेको आरोप लगाइएको छ । 

खान नेतृत्वको पाकिस्तान तहरिक-ए-इन्साफ पीटीआईका कार्यकर्ताहरूले आफ्नो पार्टी समर्थित उम्मेदवारले जित्ने पक्कापक्की भएपछि नतिजा ढिला गरी जारी गरिएको आरोप लगाएका छन् । 

'हाम्रो जनादेश चोरी भएको छ,' पार्टीका नेता ओमारी अयूबले भने, 'हाम्रो पार्टी समर्थित उम्मेदवारहरू अगाडि देखिएपछि आयोगको कार्यालयमा राखिएको स्क्रीन बन्द गरिएको छ ।'

पाकिस्तान नेसनल एसेम्बलीमा ३ सय ३६ सीट छ जसमध्ये २ सय ६६ सीटमा मात्र मतदान हुने व्यवस्था छ । 

त्यसमध्ये पनि हमलामा परेर एक जना उम्मेदवारको मृत्यु भएपछि त्यहाँ मतदान स्थगित गरिएको थियो । 

अन्य ६० सीट महिलाका लागि र १० सीट अल्पसंख्यकका लागि आरक्षित गरिएको छ र यी सीटहरू पार्टीको संसदीय आकारअनुसार बाँडफाँड गरिने त्यहाँको संवैधानिक व्यवस्था छ । 

नयाँ सरकार बनाउनका लागि २ सय ६५ सीटमा १ सय ३३ सीट जित्नुपर्छ ।

कमेन्ट गर्नुहोस्