२३ असार २०८३, मंगलबार

नेपाली सेनाको अभ्यास हातेमालो सम्पन्न

माघ २६, २०८०
काठमाडौं
नेपाली सेनाको अभ्यास हातेमालो सम्पन्न

नेपाली सेनाको अगुवाइमा छैठौं अभ्यास हातेमालो सम्पन्न भएको छ ।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनसँग सम्बन्धित अभ्यास हातेमालो शुक्रवार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका हुन् । तीन दिनसम्म सञ्चालन भएको छैठौं संस्करणको उक्त अभ्यास विक्रम सम्वत् २०७५ सालबाट सञ्चालन हुँदै आएको सेनाले जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस प्रकारका अभ्यासहरूले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने बताए ।

समग्र राष्ट्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि हुने उनको विश्वास थियो ।

प्रधान सेनापतिले जाजरकोट भूकम्प, २०७२ सालको गोरखा भूकम्प तथा कोभिड - १९ महामारी लगायतका विपद्का दौरान भोग्नु परेका कठिनाइहरू र यसका सकारात्मक पक्षहरूबारे आफ्नो विज्ञता तथा अनुभवलाई एक आपसमा साटासाट गर्न अभ्यास उपयुक्त मञ्च साबित भएको बताए ।

साथै आगामी दिनमा विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरू समेटिएको यस अभ्यासले राज्यका विपद् सम्बद्ध नीति र कार्यक्रमहरूलाई सार्थक बनाउन मद्दत पुर्‍याउने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, विभिन्न मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्र संघीय निकायहरू, रेडक्रस लगायत गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्