
कोशी प्रदेश सरकारसँग सत्ता गठबन्धनकै दल नेकपा (एकीकृत समाजवादी) रुष्ट बनेको छ । मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले सहमति उल्लंघन गरेको भन्दै एकीकृत समाजवादी रुष्ट बनेको हो ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीले सहमति एउटा गरेर र कार्यान्वयन अर्कै गरेको आरोप लगाए । थप एक मन्त्रालय पाउने सहमति भए पनि मुख्यमन्त्रीले उल्लंघन गरेको उनको भनाइ थियो ।
‘हामीसँग गरेको सहमति मुख्यमन्त्रीले उल्लंघन गर्नुभयो,’ एकीकृत समाजवादीका केन्द्रस्य सचिवसमेत रहेका राईले लोकान्तरसँग भने, ‘सहमति एउटा र कार्यान्वयन अर्कै भएको छ ।’
अब विकल्प के ? भन्ने प्रश्नमा नेता राईले कोशीमा अर्कै गठबन्धन बनाउनेतर्फ गरे । ‘अब हामीले विकल्प खोज्नै नपर्ने भएको छ ।आफैँ विकल्प बन्दै आइरहेको छ,’ उनले भने ।
मुख्यमन्त्रीले पहिला समर्थन गर्ने र कार्यान्वन गर्ने बेलामा उल्लंघन गर्ने क्रम बढेकाले विकल्प खोज्न सकिने उनले चेतावनीसमेत दिएका छन् । ‘विकल्पहरू धेरै छन्,’ राईले भने, ‘आफैँ मुख्यमन्त्री हुने विकल्प अझै बाँकी छ ।’
पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले शुक्रवार मन्त्रीहरूको शपथ ग्रहण समारोहसमेत बहिस्कार गरेका थिए । तीनजना पूर्वमुख्यमन्त्रीहरू नै शपथमा नगएका हुन् । नेकपा (एमाले)का हिक्मत कार्की, कांग्रेसका उद्धब थापासमेत मन्त्रीहरूको शपथमा गएका थिएनन् । थापा संसदीय दलका नेतासमेत हुन् । केहीदिनअघि सरकारले ल्याएको अध्यादेश पनि सल्लाह नै नगरी ल्याइएको राईको आरोप थियो ।
शुक्रवार नै कोशीका मुख्यमन्त्री केदार कार्कीले चारजना मन्त्री तथा दुई मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् ।
जसमा स्वास्थ्यमन्त्रीमा प्रदीपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाइ तथा उर्जामन्त्रीमा नारायण बुर्जा मगर र सामाजिक विकासमन्त्रीमा राजेन्द्र कार्की छन् ।
यस्तै आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनीताकुमारी राम नियुक्त भएका हुन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट भने राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका हुन् ।