१० साउन २०८३, आइतबार

सल्लाह नै नगरी वायुपंखी घोडाजस्तो दौडे मुख्यमन्त्री, अब बोक्न सक्ने अवस्था रहेन– उद्धव थापा

माघ २६, २०८०
विराटनगर
सल्लाह नै नगरी वायुपंखी घोडाजस्तो दौडे मुख्यमन्त्री, अब बोक्न सक्ने अवस्था रहेन– उद्धव थापा
फाइल तस्वीर ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारप्रति असुन्तुष्टिका चाङहरू देखा पर्न थालेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । तर शपथ ग्रहण सकिएलगतै उनकै दल कांग्रेस र सत्ता गठबन्धनकै दल नेकपा (एकीकतृ समाजवादी)ले नै विरोध जनाएका छन् । 

कांग्रेसको इतर पक्षका नेता डा शेखर कोइरालानिकट मानिने मुख्यमन्त्री कार्कीले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारप्रति पार्टीकै संस्थापन पक्ष असन्तुष्ट बनेको हो । संसदीय दलका नेतासमेत रहेका उद्धव थापासहित कांग्रेसका सांसदहरूले शपथ ग्रहण नै बहिस्कार गरेका थिए । कार्की कांग्रेसबाट विद्रोह गरेर नेकपा (एमाले)को सहयोगमा मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित रहे ।  मन्त्री हुने बाहेकका कोही पनि कांग्रेसका सांसद शथपमा नगएका हुन् । 

मुख्यमन्त्री कार्कीले आफूसँगै दलहरूसँग पनि सल्लाह नगरी मन्त्रिपरिषद् विस्तार गरेपछि शपथमा जानु उचित नलागेको कांग्रेस संसदीय दलका नेता थापाले प्रतिक्रिया दिएका छन् । 

यसले कोशी प्रदेशको राजनीति नै अस्तव्यस्त बनेको उनको भनाइ छ । कोशीमा अब गठबन्धनले पनि थेग्न नसक्ने अवस्था बनेको उनले बताए । ‘अस्ति राष्ट्रियसभा चुनावले पनि त्यो देखाएको हो,’ लोकान्तरसँगको कुराकानीमा थापाले भने ‘गठबन्धन पनि रहेन । सांसद आफ्नो मर्यादामा रहेनन् । स्थानीय तहका पनि इमान्दार भएनन् । त्यसले गर्दा यो गठबन्धनको कुरै अन्योलमा छ ।’ 

मुख्यमन्त्री कार्कीले यसै रवैया कायम राखे अब गठबन्धन दलले सहयोग र समर्थन गरेर जाने अवस्था नभएको उनले स्पष्ट पारे ।

कोशी सरकारले केहीदिनअघि ल्याएको अध्यादेश पनि अन्धाधुन्ध भएको उनले बताए । 

‘मन्त्रिपरिषद् विस्तार गर्दा दलमा सल्लाह हुँदैन । सरकारले के गर्दैछ दललाई जानकारी छैन । गठबन्धनलाई जानकारी हुँदैन । त्यस्तो हिसाबले त गठबन्धनले र दलले सरकारलाई हेर्ने दृष्टिकोणमा फरक रहने अवस्था बन्यो,’ उनले भने ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार दलले बनाएकै होइन स्वतन्त्र हैसियतमा कार्कीको मुख्यमन्त्रीमा नियुक्ति भएको हो । अनि किन दललाई सोध्नु पर्याे त ? भन्ने प्रश्नमा पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले भविश्यमा पनि यस्तै परिपाटी बस्न सक्नेमा चिन्ता व्यक्त गरे ।  

मुख्यमन्त्री भएपछि कार्कीले दल र गठबन्धनलाई सम्हालेर लान नसकेको उनको आरोप रहेको छ ।  ‘कसैसँग सल्लाह नगरी  एकदमै बायुपंखी घोडाजस्तो दौडेको छ, दौडेको छ । भनेको पनि मान्नेवाला छैन,’ उनले भने, ‘मैँ हुँ हिसाबले काम गरेको देखियो ।’

यसले मुख्यमन्त्री कार्कीलाई धेरै दिनसम्म सफल बनाउन नसक्ने उनले दाबी गरे ।

सत्ता गठबन्धन कै एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले पनि मुख्यमन्त्री राईले गरेको सरकार विस्तारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्